परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयहरुको व्यवस्थापन एवं संचालन सम्बन्धी नीति तथा कार्यक्रम बनाउने ।
(ख) उच्च माध्यमिक शिक्षाको विकासको लागि उपयुक्त कार्यक्रमहरु संचालन गर्ने तथा उच्च माध्यमिक शिक्षा सम्बन्धमा आवश्यक अनुसन्धान गर्ने, गराउने ।
(ग) उच्च माध्यमिक शिक्षा दिने विद्यालय, व्यक्ति वा संस्थालाई सम्बन्धन प्रदान गर्ने ।
(घ) उच्च माध्यमिक शिक्षाका लागि आवश्यक पाठ्यक्रम स्वीकृत गर्ने तथा पाठ्यपुस्तक तयार गराउने ।
(ङ) परिषद्लाई आवश्यक पर्ने जनशक्तिको व्यवस्था मिलाउने ।
(च) परिषद्का लागि आवश्यक कर्मचारीहरुको दरबन्दी स्वीकृत गर्ने ।
(छ) परिषद्को कार्य संचालनको लागि आवश्यकता अनुसार उपसमिति वा कार्यटोली गठन गर्ने तथा त्यस्तो उपसमिति वा कार्यटोलीको काम, कर्तव्य र अधिकार तथा अन्य कार्यविधि तोक्ने ।
(ज) सम्बन्धन प्राप्त उच्च माध्यमिक विद्यालयहरुको सम्पूर्ण विवरण सहितको अभिलेख अद्यावधिक रुपमा राख्ने, राख्न लगाउने ।
(झ) परिषद्का कर्मचारीहरुको अध्ययन र असाधारण विदा स्वीकृत गर्ने ।
(ञ) सभाको नीति, निर्देशन र निर्णयहरु कार्यान्वयन गर्ने गराउने ।
(ट) उच्च माध्यमिक विद्यालय संचालनको सम्बन्धमा आवश्यक अन्य कार्य गर्ने, गराउने ।